
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ । अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने मौसमविदको पूर्वानुमान छ ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिममा आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
लुम्बिनी प्रदेशकाे पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । बागमती प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मधेश प्रदेशमा आज दिउँसो र राति आंंशिक बादली हुनेछ । कोशी प्रदेशको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

























