
रुपन्देही । बुटवलको सुप्रिम सहकारी अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ ।
लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरिएको हो । अदालतमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ ।
सुप्रिम सहकारीको रकम अपचलन गरेको प्रकरणमा लामिछानेविरुद्ध पुरक जाहेरीका आधारमा मुद्दा चलेको हो । प्रहरीले अनुसन्धान सकेर पुस २६ गते मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि त्यसका आधारमा अभियोगपत्र तयार पार्दै जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
अभियोगपत्र २ सय ५६ पृष्ठ लामो छ । सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ हिनामिना गरेको आरोप लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहितलाई लागेको छ । यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
त्यतिबेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पुरक अभियोग पत्र दर्ता गरिएको हो । अहिले लामिछाने र जोशीसहित १४ जनालाई प्रतिवादी बनाएको छ । यसअघिको र पुरक अभियोगमा समेत गरेर प्रतिवादीको संख्या ४२ पुगेको हो ।
अभियोगपत्रमा लामिछानेको व्यक्तिगत दायित्वमा दुई करोड र सामूहिक दायित्वमा थप दुई करोड गरी चार करोडभन्दा बढी बिगो माग गरिएको छ । यसअघि कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
कास्की र काठमाडौं अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका थिए । कास्की अदालतले लामिछानेसँग ६५ लाख र जोशीसँग ८८ लाख रूपैयाँ धरौटी माग गरेको थियो । लामिछानेलाई काठमाडौं अदालतले ६० लाख रूपैयाँ धरौटी माग गरेको थियो ।
अब लामिछानेको रुपन्देही अदालतमा बयान हुने छ । बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ ।
बहस सकिएपछि अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ । लामिछानेविरुद्ध चितवन र पर्सामा पनि मुद्दा दर्ता गर्ने तयारी छ ।

























