
काठमाडौं । मुलुकभर आज (मंगलबार) पनि पश्चिमी वायुको प्रभाव कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ ।
न्यून चापीय प्रणालीको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही भू–भागहरूमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना छ । जसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न क्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

























