
काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
उक्त प्रभावका कारण आज (बुधबार) कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।
तराईमा केही दिनयता बाक्लो हुस्सु लागिरहेको छ । कतिपय ठाउँमा घाम लाग्न सकेको छैन । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । केही ठाउँमा शीतलहर पनि चलिरहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने पूर्वानुमान गरिएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

























