
काठमाडौं । देशको पश्चिमी भू–भागमा न्यून चापीय प्रणालीको प्रभाव कायम नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावका कारण कोशीसहितका ४ प्रदेशका उच्च पहाडी एवं हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने सम्भावना छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका अधिकांश भू–भागहरूमा आज (बिहीबार) बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी एवं हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले मौसममा भइरहने फेरबदलले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।

























