
विराटनगर । भारत महाराष्ट्रको जलगाउँमा रेल दुर्घटनामा परेर मृत्यु हुनेमध्ये ३ जना नेपाली नागरिक रहेको यकिन भएको छ ।
दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको हो । मृतकमध्ये १ जना बालकसहित ३ जना नेपालीको पहिचान
भइसकेको छ । अन्य ४ जना भारतीयको पनि पहिचान खुलेको छ । पहिचान नखुलेका अन्य ४ जना भारतीय नागरिक हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् । मृतकमध्ये हालसम्म ७ जनाको मात्रै पहिचान भएको छ । ४ जनाको पहिचान हुन बाँकी छ । मृतक नेपाली नागरिकमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् ।
लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेल जलगाव जिल्ला पुगेपछि आगो लागेको सूचना फैलिएको थियो । त्यसलगत्तै यात्रुहरु बीचमा भागदौड मच्चियो ।
भागदौडका क्रममा अर्को लिकमा आइरहेको रेलमा परेर ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रेलको कुनै डिब्बामा आगो फैलिएको सूचनापछि उक्त रेल रोकिन पुगेको थियो।
रोकिएपछि यात्रुहरू भागदौड गर्न थालेका थिए। त्यही बेला अर्को लिकमा आएको कर्नाटक एक्सप्रेसको रेलमा पर्दा परेर यात्रुहरुको मृत्यु भएको हो । बीबीसीका अनुसार कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल गइरहेको बताइएको छ।

























