
रुपन्देही । सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा पुगेका छन् ।
थुनछेक बहसका लागि लामिछाने अदालत उपस्थित भएका हुन् । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच केहीबेरमा बहस सुरु हुने छ । बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्ने छ ।
न्यायाधीश योगीकै इजलासमा बुधबार लामिछानेको बयान भएको थियो । बयान सकिएपछि इजलासले अदालतमा आफैं उपस्थित हुने सर्त राखेर लामिछानेलाई पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएको थियो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । उक्त सहकारी ठगी प्रकरणलाई लिएर रुपन्देही जिल्ला अदालतमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

























