
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्याको समाधानमा सरकार गम्भीर भएर लागेको बताएका छन् ।
‘धरानको समस्याका बारेमा सरकार गम्भीर छ । त्यहाँको खानेपानी समस्या समाधान हुन्छ,’ उनले भने । तर, धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आउने नाममा ‘मिडिया स्टनबाजी’ गरेको यादवले बताए ।
मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले ‘स्टनबाजी’ गर्ने भन्दा पनि सरकारले काम गरेर देखाउने बताए । उनले अबको १ वर्षभित्रमा धरानको खानेपानी समस्या समाधान भइसक्ने दाबी गरे ।
‘मुलुकमा धरानजस्तो धेरै गाउँपालिका र नगरपालिका छन् । समस्या धेरैतिर छ । तर, यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन । ‘मिडिया स्टनबाजी’ गर्ने छुट्टै हो । काम गर्ने छुट्टै हो । हामी काम गरेर देखाउँछौं । अबको एक वर्षभित्रमा काम गरेर देखाइदिन्छु,’ उनले भने ।
धारानमा खानेपानी समस्याको व्यवस्थापनका लागि करिब ६ अर्ब बजेट छुटयाइएको जानकारी उनले दिए । मन्त्री यादवका अनुसार ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानी समस्या समाधान गरिने छ ।
मेयर सम्पाङले खानेपानीका लागि ठूलै मिहिनेत गरेर अलिअलि पानी ल्याएको भए पनि त्यो पर्याप्त नहुने र त्यसले ३ वटा वडामा पनि नपुग्ने उनको भनाइ छ । ‘आफ्ना नागरिकलाई पानी दिन संघीय सरकार आतुर छ । प्रधानमन्त्री र मबीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ । करिब ६ अर्बको बजेट छ हामीसँग । त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौं । एडीबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ । किनकि ठूलो बजेटको कुरा छ । छलफल गरिसकेका छौं । त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौं,’ मन्त्री यादवले भने ।
उनले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे । यादवले भने, ‘धेरै ‘स्टनबाजी आवश्यक छैन । काम गरेर देखाउनुपर्छ ।’

























