
विराटनगर । भारतको महाराष्ट्र राज्यअन्तर्गत जलगाउँस्थित परधाडे स्टेसननजिकै रेल दुर्घटनामा परेर मृत्यु हुने नेपाली नागरिकको संख्या ७ पुगेको छ ।
मृत्यु हुनेमा अछामका ४, कैलालीका २ र बाँकेका १ जना रहेको परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत अछाम मंगलसेनका बालक ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामीको मृत्यु भएको जनाएको हो ।
त्यस्तै, कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी र बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको मन्त्रायलले जनाएको छ । दुर्घटनामा परेर घाइते भएकामध्ये ४ जना नेपाली नागरिक रहेका छन् ।
मन्त्रालयका अनुसार ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
गत बुधबार साँझ करिब ५ः०५ बजेतिर रेल दुर्घटनामा परेको हो । पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाए पनि परराष्ट्र मन्त्रालयले भने १२ जनाको मात्रै मृत्यु भएको उल्लेख गरेको छ । मृत्यु हुने अन्यमा भारतीय नागरिक रहेका छन् । दुर्घटनामा परेर ४० जनभन्दा बढी घाइते भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
रेलमा आगो लागेको हल्ला फैलिएपछि यात्रुहरुबीच भागदौड मच्चिएको थियो । त्यसक्रममा अर्को लिकबाट आइरहेको रेलले किचेर उनीहरुको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । हतारिएर यात्रीहरू झ्यालबाट हाम फालेका थिए ।
यस्तो छ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति

























