
बुटवल । सहकारीको रकम अपचलन मुद्दामा प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बहस आज (शुक्रबार) पनि सकिएन ।
थुनछेक बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । उनीविरुद्ध दर्ता भएको मुद्दाको बहस बिहीबारबाट सुरु भएको थियो । जिल्ला अदालत भैरहवाका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार मुद्दालाई आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बयान भएको थियो । बयान सकिनै १ दिन लाग्यो । बिहीबारबाट थुनछेक बहस सुरु भयो ।
बिहीबार सरकारी वकिलको मात्रै बहस सकियो । शुक्रबार सुरुमा जाहेरवाला अर्थात सहकारीपीडित पक्षका कानुन व्यवसायीहरुले बहस गरेका थिए । त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीहरुले बहस थाले । लामिछाने पक्षका कानुन व्यवसायी, वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र सुरेन्द्र थापाले शुक्रबार बहस गरेका छन् ।
प्रतिवादी लामिछानेतर्फ कानुन व्यवसायीको बहस सकिएको छैन । बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने सर्तमा उनलाई परिवारको जिम्मा लगाइएको छ ।
थुनछेक बहस सकिएपछि सरकारी वकिलसमेतले जवाफी बहस गर्नेछन् । बहस सकिएपछि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ ।

























