
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आज (बुधबार) पाथीभरा घटना तथा जिल्लाको विकासका बारेमा बोल्ने भएका छन् ।
ताप्लेजुङमा निर्माण भइरहेको पाथीभरा केबलकारको विरोधमा सुरु भएको आन्दोलन र जिल्लाको विकासका विषयमा जानकारी दिन उनले पत्रकार सम्मेलन गर्ने भएका हुन् । मध्यान्ह १२ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरी जिल्लाको समस्या र यसको निकासका विषयमा भट्टराईले जानकारी दिने उनका स्वकीय सचिव सन्तोष मादेनले बताए ।
यसै विषयमा गृहमन्त्री रमेश लेखकले हिजो (मंगलबार) ताप्लेजुङसहित सम्बन्धित ४ जिल्लाका सांसदहरूसँग छलफल गरेका थिए । मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच शनिबार झडप भएको थियो । त्यस क्रममा प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको थियो । थप तनाव हुन नदिने उद्देश्य राखेर जिल्लाका सांसदहरूसँग गृहमन्त्रीले छलफल सुरु गरेका हुन् ।
छलफलबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भएपनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै विरोध गरिरहेको बताए । केबलकार बनाउन नदिन विरोध भएसँगै सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको उनले बताए । उनले विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने बताएका छन् ।
विरोधीहरूसँग पनि संवाद गर्ने निष्कर्ष निस्किएको भट्टराईले बताए । घाइते भएकाहरूको स्वास्थ्योपचारको व्यवस्था सरकारले गर्ने जानकारी उनले दिए ।
‘गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ भट्टराई भन्छन्, ‘सम्बन्धित मन्त्रालयसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको छ ।’ एमाले नेता भट्टराईले पाथीभरामा केबलकार बनाउने क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

























