
विराटनगर । झापाको दमक नगरपालिका–४ ताराबारीमा करेन्ट लागेर एक जना मजदुरको बुधबार मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे)का कामदार रौतहटको चन्द्रनिगाहापुर–१० घर भएका अन्दाजी २० वर्षीय सञ्जय महताको मृत्यु भएको प्रहरीले जनाएको छ । महतोलाई निर्माणाधीन ‘एसियन हाइवे’मा काम गर्ने क्रममा दिउँसो ३ः१० बजेतिर करेन्ट लागेको थियो ।
निर्माण कम्पनी जेबी टुण्डीको जेसीबीको बटेकमा चढेर केवलको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा उनी जेसीबीको बकेटबाट खसेर घाइते भएको भनिएको थियो ।
गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारका लागि मोरङको उर्लाबारीस्थित अरनिको अस्पताल लगियो । उपचारका क्रममा उनलाई करेन्ट लागेको खुल्यो । थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।
नोबेलमा उपचारका क्रममा महतोलाई चिकित्सकले दिउँसो ४ः३६ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबी चालक उर्लाबारी नगरपालिका–६ का ५६ वर्षीय शिवकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
श्रेष्ठसँग जेसीबी चलाउनलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । प्रहरीका अनुसार लापरबाहीपूर्ण तरिकाले काम गर्दा घटना भएको हो ।

























