
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार)को मौसम पूर्वानुमान विवरण सार्वजनिक गरेको छ । जस अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका अधिकांश भागमा आज (बिहीबार) बिहानैबाट बाक्लो हुस्सु लागेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने अनुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ । तराईका धेरै स्थानमा हुस्सु लागेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने सम्भावना छ ।

























