
विराटनगर । हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवितै रहेको समाचारहरु बाहिर आएका छन् । इजरायलले पनि जोशी जीवितै र सकुशल रहेको उल्लेख गरेको छ ।
यद्यपि, हमासबाट भने यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । समाचारहरुमा जनाइएका अनुसार हमासले जोशीलाई गाजामा बन्धक बनाएर राखेको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको उल्लेख गरेको छ ।
एक नेपाली भने पनि नाम खुलाइएको छैन । तर, हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता पारिएका नेपाली नागरिक विपिन जोशी मात्रै हुन् । समाचारहरुका आधारमा जोशी जीवितै र सकुशल रहेको अनुमान गरिएको हो ।
हमासले ५ जना थाई नागरिकसहित ८ जना बन्धकलाई आज रिहा गर्दै छ । ३ जनाको नाम सार्वजनिक गरिसकेको छ । तर, त्यो सूचीमा जोशीको नाम छैन । टाइम्स अफ इजरायलका अनुसार गाजामा अझै ८ थाई, १ नेपाली र १ तान्जानियालीलाई हमासले बन्धक बनाएर राखेको छ ।
थाई नागरिक २ जना र तान्जानियाली नागरिक १ जनालाई भने मृत घोषणा गरिसकिएको छ । आज रिहा हुने बन्धकको बदलामा इजरायलले १ सय १० प्यालेस्टिनीलाई रिहा गर्नेछ ।
इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ। यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन्।
गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू जोशीको रिहाइको पर्खाइमा छन् । समाचारहरुका आधारमा उनी जीवितै रहेको र चाँडै नेपाल फर्किने सम्भावना छ ।
हमासले सन् २०२२ को अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यस क्रममा हमासले गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट जोशीलाई अपहरण गरेर आफ्नो कब्जामा लिँदै हालसम्म बन्धक बनाएर राखेको छ । इजरायल र हमासबीच युद्धविराम भए पनि यसअघि जोशीको अवस्था थाहा हुन सकेको थिएन ।

























