
विराटनगर । विराटनगरमा १४ औं ‘प्याब्सन स्पोर्ट्स शुक्रबार (आज) देखि सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा सुरु भएको ‘प्याब्सन स्पोर्ट्स मीट’ को उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरे ।
पहिलो दिन भएको लङजम्प छात्रतर्फ बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राईले स्वर्ण, जनक मेमोरियल स्कुलका जोसेफ चौधरीले रजत र पूर्वाञ्चल एकेडेमीका मनिष चौधरी कास्य पदक जिते ।
छात्रातर्फ मदर टेरेसाकी पूजा यादवले स्वर्ण, बिकेभिम स्कुलकी स्मृतिकुमारी यादवले रजत र बालप्रतिभा स्कुलकी एन्जेलिया बिष्टले कास्य पदक जिते ।
प्रतियोगिताअन्तर्गत फुटबलतर्फ हरैँचा मोडल, सिंहदेवी, बाल्मिकी र सिद्धार्थ स्कुल विजयी भए ।
पहिलो खेलमा हरैँचा मोडलले मिनील्याण्ड स्कुललाई ३–० गोल पराजित गरेको छ । दोस्रो खेलमा सिंहदेवी स्कुलले सिद्धार्थ स्कुलाई २–१ गोलले हरायो । तेस्रो खेलमा बाल्मिकी स्कुलले ब्राइटफ्यूचर स्कुललाई १–० गोलमा पराजित गरेको छ ।
त्यस्तै, चौथो खेलमा सुनगाभा स्कुलले सिंहदेवी स्कुललाई ५–४ गोल फरकमा हरायो । पाँचौँ खेलमा भूपू सैनिक स्कुललाई सिद्धार्थ स्कुलले टाइब्रेकरमा ५–३ गोलले हरायो ।
माघ २० गतेसम्म हुने प्रतियोगितामा २५ भन्दा बढी विद्याका खेलहरू समावेश गरिएको छ । मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरूले भाग लिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए ।



















