
धरान । धरानमा आजदेखि सुरु भएको २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको चर्च ब्वाइज युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताअन्तर्गत आज धरान रंगशालामा भएको उद्घाटन खेलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइजका लागि सन्तोष खत्रीले ४७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले एन्ड्रिउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे ।
खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित हुनु पर्याे । पहिलो हाफ बराबरी खेलेको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो ।
पहिलो हाफको १० औं मिनेटमा पुलिसका राम वजीले डिबक्सबाट प्रहार गरेका बल पोष्ट नजिकबाट बाहिरिएको थियो । १९ औं मिनेटमा सन्जित लामाको पासमा विवेक पाण्डेले प्रहार गरेको बल चर्च ब्वाइजका गोलकिपरले पञ्च गरेका थिए ।
चर्च ब्वाइजका समिर तामाङले २४ औं मिनेटमा प्रहार गरेको बल गोलकिपर सञ्जीव श्रेष्ठले बचाए । ७० औं मिनेटमा चर्च ब्वाइजका दीपेश गुरुङले मिलाइ दिएको लामो पासलाई समिर तामाङले डिबक्सबाट गोल गर्न चुके ।
माघ २६ गतेसम्म हुने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछन् ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्णबहादुर बस्नेतले गरेका थिए।



















