केबलकारको समस्या समाधान गर्न सरकारले बनायो वार्ता समिति

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार ०७:१२

विराटनगर । सरकारले केबलकार निर्माणका क्रममा देखिएको समस्या समाधान गर्न वार्ता समिति बनाएको छ ।

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहने गरी वार्ता टोली गठन गरिएको जनाएको छ ।

गृह प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले विज्ञप्ति जारी गर्दै वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाई समेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएर संवादमार्फत समस्या समाधानमा सहयोग गर्न अपिल गरेका छन् । सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केबलकार सम्बन्धी नीति, कानुन र मापदण्डको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको गृह प्रवक्ता तिवारीले बताए । केबलकारको समस्या बहुपक्षीय सरोकारको विषय रहेको तथा शान्ति सुरक्षा व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको जानकारी उनले दिए ।

मुक्कुम्लुङ क्षेत्र संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिका नाममा आइतबारदेखि अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरिएको छ । बन्द गराउँदै हिँड्ने, सवारीसाधनलाई अवरोध गर्ने तथा अराजक गतिविधि गर्ने केही व्यक्तिहरुलाई प्रहरीले सुनसरी र झापाबाट पक्राउ गरेको छ ।

झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको थियो । त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । लाट्ठी चार्जसमेत गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

संघर्ष समिमितले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको छ । समितिले केबलकार निर्माणको विरोधमा अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो ।

गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द छ । बन्दका कारण जनजीवन अत्यन्त कष्टकर बनिरहेको छ । सर्वसाधारणले धेरै दुःख पाइरहेका छन् । आन्दोलनका नाममा यातायात बन्द गरेर सर्वसाधारणलाई पीडा दिने काम भएको गुनासो सर्वत्र छ ।

ताप्लेजुङमा बन्दको प्रभाव धेरै परेको छ । अन्य जिल्लामा आज (सोमबार) पनि बन्दको सामान्य प्रभाव छ । राजमार्ग तथा भित्री सडकखण्डमा सवारीसाधन चलिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बन्दलाई मध्यनजर गरेर ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा निकायले बन्दकर्ताको हर्कत निगरानी गरिरहेका छन् ।

समितिले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्ला बन्दको आह्वान गरेको हो । तराईमा भन्दा पहाडी जिल्लामा बन्दको अलि बढी प्रभाव परेको छ ।

पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएको मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच ताप्लेजुङमा झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । घटनामा २१ सुरक्षाकर्मी र ५ जना आन्दोलनकारीसहित २६ जना घाइते भएका हुन् ।

उक्त घटनापछि संघर्ष समितिले बन्द र हड्ताल गरिरहेको छ । केबलरकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने, ताप्लेजुङको काफ्लेपाटीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायतका माग राख्दै संघर्ष समिति आन्दोलित बनेको हो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.