
काठमाडौं । हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सभामुख देवराज घिमिरेले पहल थालेका छन् ।
हमास समूहले अपहरण गरेर जोशीलाई बेपत्ता बनाएको छ । जोशीको शीघ्र रिहाइका लागि घिमिरेले पहल थालेका हुन् । उनले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेका छन् ।
‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई ७ अक्टोबर २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ । सभामुख घिमिरेले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास लिएका छन् ।
नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण घिमिरेले गराएका छन् । हमासले इजरायलमा २०२३ अक्टोबर ७ मा आक्रमण गरेर जोशीसहितलाई अपहरण गरी बन्धक बनाएको थियो ।
जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहेको छ । तर, हमासले उनलाई हालसम्म रिहाइ गरेको छैन । गत आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कुटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।
सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् । सभामुखको अपिलसँगै विपिनको सकुशल उद्दारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ ।

























