
काठमाडौं । तपाईले डिजिटल माध्ययमबाट भुक्तानी गर्दा कति कर तिर्नुहुन्छ । एउटा बैंकबाट अर्काे बैंक खातामा रकम सार्नका लागि ११.३ रुपैयाँ अतिरिक्त शुल्क लाग्छ । यो शुल्क खारेज गर्न संसदमा आवाज उठेको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शुन्य समयमा सांसद निशा डाँगीले डिजिटल भुक्तानी निःशुल्क हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘सरकारले पटक पटक विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भनेको छ । तर, मैले यदि कसैलाई नगद १०० रुपैयाँ दिएँ भने कुनै पनि प्रकारको कर लाग्दैन र पैसा दिए बापतको रकम पनि तिर्नुपर्दैन, तर, डिजिटल प्लेटफममार्फत कसैलाई दिएँ भने १११.३ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ’, उनले भनिन्,‘जसले डिजिटल ट्रान्सजेक्सनलाई निरुत्साहित गरिरहेको छ ।’ हरेक पटकको डिजिटल भुक्तानीमा ११.३ रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपरेको उनले बताइन् ।
सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने हो भने कर कटौती गर्दै निःशुल्कको व्यवस्था मिलाउनुपर्ने उनले बताइन् ।

























