
काठमाडौं । देशका केही स्थानको उच्च पहाडी एवं हिमाली क्षेत्रमा आज (शनिबार) हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा सामान्य हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हुस्सु र कुहिरोका कारण तराई क्षेत्रको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्छ ।

























