
काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज (शनिबार) बिहान आगलागी भएको छ ।
मन्त्रालय भवनको चौथो तलामा बिहान ९ बजेतिर आगलागी भएको हो । आगो लाग्नसाथ नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ । हाल आगो नियन्त्रणमा आइसकेको जानकारी प्रहरीले दिएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त हुन सकेको छैन ।
प्रहरीले क्षतिको विवरण संकलन सुरु गरेको छ । ‘आगो पूर्णरूपले नियन्त्रणमा आइसक्यो । आगलागीको कारण खुल्न सकेको छैन,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले भने, ‘विद्युत सर्ट भएर आगलागी हुन पुगेको अनुमान छ । क्षतिको विवरण पनि यकिन हुन सकिरहेको छैन ।
क्षतिको विवरण संकलन सुरु गरेर घटनाको अनुसन्धान थालिएको जानकारी बोहराले दिए ।

























