
धरान । काठमाडौंको न्युरोड टिम (एनआरटी)ले २५ औं बुढासुब्बा गोल्डकपको जितेसँगै उपाधिमा ह्याट्रिक गरेको छ ।
धरानमा शनिबार (आज) सम्पन्न भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलमा हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो । एनआरटीले १० औं र २४ औं संस्करणको उपाधि जितेको थियो ।
उपाधिसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ । प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो ।
खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाई कप्तान अनन्त तामाङले हेड गोल गरेका थिए ।
गोल खाएको तीन मिनेट नबित्दै एनआरटीले बराबरी गर्यो । २७ औं मिनेटमा एनआरटीका रोबर्टले प्रहार गरेको कर्नरमा चर्च ब्वाइजका गोलकिपर क्रिसल मोक्तानले पञ्च गर्न नसक्दा डिबक्सभित्र रुमल्लिएको बललाई हेनरी पोकोले जाली चुमाएका थिए । उनै हेनरीले नै एनआरटीका लागि दोस्रो गोल गरे ।
५८ औं मिनेटमा चर्च ब्वाइजका डिफेन्स डिका सेर्गेबाट बल खोस्दै उनले उत्कृष्ट गोल गरे । खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोकोले नगद १० हजार पुरस्कार प्राप्त गरे ।
चर्च ब्वाइज भने पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको हो । यो सिजनमा एनआरटी र चर्च ब्वाइज ४ वटा प्रतियोगितामा आमने सामने हुँदा ३ वटा प्रतियोगिताको फाइनलमा यी २ टोलीले उपाधिका लागि खेलेका छन् ।
बुढासुब्बा गोल्डकप र इलाम गोल्डकपको उपाधि भिडन्तमा एनआरटीले चर्च ब्वाइज पराजित गर्यो भने चर्च ब्वाइजले झापा कपको उपाधि भिडन्तमा एनआरटीलाई पराजित गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखीले नगद १ लाख पुरस्कार पाए । हाई स्कोर चर्च ब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंग भए । उनीहरूलाई नगद ३५ हजार प्रदान गरियो ।
त्यस्तै, बेष्ट गोलकिपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्च ब्वाइजका समिर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको २५ औं संस्करण पूरा भएको अवसरमा आयोजक धरान फुटबल क्लबबाट पहिलो संस्करण खेलेका खेलाडीहरूलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै, पहिलो संस्करणबाट निरन्तर गोल्डकपको समाचार लेखेका बरिष्ठ पत्रकार हर्ष सुब्बालाई नगद ११ हजारसहित सम्मान गरिएको थियो ।
बुढासुब्बा गोल्डकपका संस्थापक २०५५ सालदेखि २०८० सालसम्म धरान फुटबल क्लबको अध्यक्ष रहेका किशोर राईलाई समेत नगद ५१ हजारसहित सम्मान गरेको थियो ।



















