
विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ माथिल्लो कसेनीमा गाई चराएर फर्कदै गर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जना वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट माथिल्लो कसेनीका ६५ वर्षीय उखीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाई चराउन गएका उनलाई गाई लिएर घरतर्फ फर्कदै गर्दा बिहीबार साँझ ६ बजेतिर को १७ प ७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा शनिबार मृत्यु भएको हो । मोटरसाइकल चालक बेलबारी–५ का ५६ वर्षीय राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । गाईका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

























