
धादिङ। तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।
दुर्घटना धादिङमा भएको हो । दुर्घटनामा परेर घाइते भएकी दोलखाकी ५० वर्षीया पार्वती काफ्लेको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आफैँ अनियन्त्रित भएर आइतबार राति पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोस्थित दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ। घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

























