
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये पाँच वटा अध्यादेश पारित गर्न सहयोग गर्ने निर्णय गरेको छ ।
सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरेको थियो । प्रतिनिधिसभामा सत्तापक्षसँग सहज बहुमत छ । राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ ।
राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन् ।
सरकारले ६ वटै अध्यादेश पास गर्न जसपा नेपालको साथ खोजेको थियो । तर जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेशको पक्षमा उभिने बताएको हो ।
जसपा नेपालको मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पाँच वटा अध्यादेशलाई स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए ।
यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाकाे कार्यसूचीमा समावेश भएपनि अन्तिम समयमा ६ वटै अध्यादेश निर्णायका लागि पेश गर्ने कार्यसूची अन्तिम समयमा हटेकाे थियाे ।

























