रतुवा खोलामा २ तिर लम्बाइ थपेर निर्माण गरियो पुल

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार १७:२३

विराटनगर । मोरङ र झापाको सिमाना भएर बग्ने रतुवा खोलामा लामो समयपछि पुल निर्माण सम्पन्न भएको छ ।

पुल निर्माण सम्पन्न भएसँगै सवारीसाधन सञ्चालन हुने अवस्था बनेको छ । हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलामा १७ वर्षअघि पुल निर्माण सुरु भएको थियो । बल्ल पुल तयार भएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका अनुसार पुल निर्माण सम्पन्न भए पनि पुलको पूर्व–पश्चिम सडकको काम भने बाँकी छ । पुल निर्माण भएको स्थान झापातर्फ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरीगन्जमा पर्छ ।

झापाको क्षेत्र नम्बर ५ ओलीको निर्वाचन क्षेत्र हो । मोरङतर्फ सार्वजनिक लेखा समितिका सभापति एवं एमाले नेता ऋषिकेश पोखरेलको निर्वाचन क्षेत्र रतुवामाईमा पर्छ । मोरङको क्षेत्र नम्बर २ पोखरेलको निर्वाचन क्षेत्र हो ।

पुल निर्माण सम्पन्न भएपनि आसपासको सडकको कालोपत्र गर्न बाँकी छ । निर्माण सम्पन्नको समयसीमा असारसम्मको छ । समयअगाडि नै निर्माण पूरा भएको हो । पूर्व–पश्चिम सडकको बाँकी काम पनि असारअघि नै सम्पन्न हुने हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।

पुल निर्माण विक्रम संवत २०६४–०६५ मा सुरु भएको थियो । तर, लामो समयसम्म अधुरै रहयो । अधुरो पुल खोलाको बीचमा थियो । पुलको २ तिरबाट खोला बग्थ्यो ।

निर्माणका लागि दोस्रो पटक २०७९ सालमा ठेक्का लागेको थियो । पुल नहुँदा स्थानीयबासी बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न बाध्य थिए । यात्रुले बाँसको पुलबाट खोला वारपार गर्दा साइकलको १० रूपैयाँ र मोटरसाइकलको २० रूपैयाँ तिनुपर्ने हुन्थ्यो ।

भेलबाढीमा खोला वारपार सम्भव थिएन । पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । ‘पुल निर्माण भएपछि सवारी आवागमान भइरहेका छन्,’ पोखरेलले भने, ‘पुलको पूर्व–पश्चिमको सडक निर्माण भइरहेको छ ।’

मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–०६५ मा कालिका–ओसीए जेभीलाई १० करोड ३२ लाखमा पुल निर्माणको ठेक्का दिएको थियो । त्यसबेला २०४.८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बीच भागमा थियो ।

हुलाकी राजमार्ग कार्यालयका अनुसार दुवैतर्फ गरेर ७७.७ मिटर लम्बाइ थप गरेर पुल निर्माणका लागि देव एन्ड सायर–समता–आशिषदीप जेभीसँग २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसपछि मोरङतर्फ ५१.६५ मिटर र झापातर्फ २६.०५ मिटर पुलको लम्बाइ थपिएको छ । हाल उक्त पुलको लम्बाइ २ सय ८२ दशमलव ५ मिटर छ ।

रतुवा खोलाको अधुरो पुल निर्माण भएपछि झापाका दक्षिण क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउजाउ गर्न सहज भएको स्थानीयले बताए । तत्कालीन ठेकेदार कम्पनीले पुल अधुरै छाडेको थियो ।

अधुरो पुल निर्माण गर्न १५ वर्षपछि नयाँ ठेक्का लागेको हो । पुलको सुरक्षाका लागि झापातर्फ ६ सय ५० र मोरङतर्फ १ हजार ४ सय मिटरको तटबन्ध निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.