
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ विविध कार्यक्रम गरेर ३ दिनसम्म मनाइने भएको छ ।
प्रजातन्त्र दिवसलाई भव्य रूपले मनाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा ६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । प्रजातन्त्र दिवस मनाउने विषयमा छलफल गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज (बिहीबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेको थियो ।
मुख्यमन्त्री कार्कीको अध्यक्षतामा रहेको मूल समारोह समितिमा प्रदेशसभाका सभामुख, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रदेशसभाका उपसभामुख, प्रमुख विपक्षी दलका नेता, पूर्वमुख्यमन्त्रीहरु, राज्यमन्त्री, विराटनगर महानगरपालिकाका प्रमुख, मोरङका नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव समितिको सचिव हुने छन् ।
छलफलबाट फागुन ६ ,७ र ८ गते प्रजातन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय भएको छ । फागुन ६ गते कार्यालय, घर आँगन, सार्वजनिक स्थलमा सरसफाइ, रक्तदान तथा साँझ दीपावली गर्ने कार्यक्रम छ । फागुन ७ गते बिहान ७ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकअगाडिबाट प्रभात फेरी निकालिने छ ।
विराटनगरका विभिन्न स्थानको परिक्रमा गर्दै प्रभातफेरी पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यक्रममा परिणत हुने छ । सोही दिन साँझ घरघरमा दीपावली गर्ने कार्यक्रम छ ।
फागुन ८ गते अस्पतालमा ज्येष्ठ नागरिक एवं वृद्धआश्रममा रहेकालाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीले तानाशाही व्यवस्था अन्त्य गरिएको महत्त्वपूर्ण दिन भएकोले नागरिक सहभागिताका साथ प्रजातन्त्र दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताए ।
कार्कीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, संविधान दिवसजस्ता महत्त्वपूर्ण दिनमा विविध विधामा योगदान दिने नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिए । प्रजातन्त्र दिवसको तयारीका लागि थप छलफल गर्न तथा सुझाव माग्न यही फागुन ४ गते मूल समारोह समितिको बैठक बोलाइएको छ । प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

























