
विराटनगर । कोशी प्रदेशसभामा कायममुकायम सचिवको जिम्मेवारी उपसचिव गौतमराज अमात्यले पाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उपसचिव अमात्यलाई कामु सचिवको जिम्मेवारी दिइएको हो ।
पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा पराजुली दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई आज (बिहीबार) कायममुकायम सचिवको जिम्मेवारी दिएका हुन् । बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निभाएका थिए ।
कार्यालयको सिनियर कर्मचारी भएका कारण आफूले कामु जिम्मेवारी पाएको अमात्यले बताए । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा नेकपा (एमाले)का नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।
बालुवाखानी ठेक्का दिँदा पराजुली तत्कालीन जिल्ला विकास समिति काठमाडौंका स्थानीय विकास अधिकारी थिए । निजामति सेवाबाट अवकास लिएपछि उनी २०७६ साल वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त भएका थिए ।
दोस्रो कार्यकालका लागि २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए । सर्वोच्चको फैसलापछि पराजुली पुनरावलोकनका लागि काठमाडौं पुगेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

























