
विराटनगर । विराटनगर महानगरपालिकाले आज (बिहीबार) १ दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ ।
हटिया (बजार)मा किनबेचमा प्रयोग गरिँदै आएको ढक र तराजु महानगरको टोलीले नियन्त्रणमा लिएको हो । उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो ।
बिहीबार महानगरका प्रहरी प्रमुख राजन पौडेलको नेतृत्व टोलीले विराटनगर–५ स्थित पृथ्वीचोकबाट एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । अबदेखि महानगर क्षेत्रभित्र लाग्ने हाटबजारमा ढुंगाको ढक र तराजुलाई विस्थापन गरिने कार्कीले जानकारी दिइन् ।
नगर प्रहरी परिचालन गरेर बिहीबारदेखि नै ढुंगाको ढक, तराजु नियन्त्रण सुरु गरिएको उनको भनाइ छ । ‘हाटबजारमा नापतौल गर्ने ढक ढुंगाको तथा अन्य वस्तुबाट मापन गरिरहेको पाइएको हुँदा अनिवार्य रुपमा मापदण्डबमोजिम ढक प्रयोग गर्न÷गराउन नगर प्रहरीमार्फत प्रचारप्रसार गर्ने निर्णय गरिएको छ,’ उपमेयर संयोजक रहेको समितिले गरेको निर्णयमा भनिएको छ ।
विशेषगरी साप्ताहिक रुपमा लाग्ने हाटबजारमा नापतौलका लागि ढुंगाको ढक प्रयोग गर्ने गरेको पाइन्छ । जसबाट उपभोक्ता ठगिने क्रम बढेको भन्दै महानगरले अबदेखि ढुंगाको ढकलाई पूर्णरुपमा विस्थापन गर्ने भएको छ ।
त्यस्तै, समितिको बैठकले माछा र तरकारीको बिक्रीस्थल छुट्टाछुट्टै स्थानमा रहने व्यवस्था गर्ने निर्णय लिएको छ । महानगरको नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसललाई महानगरको मापदण्डबमोजिम व्यापार गर्ने विषयमा प्रतिबद्ध गराउन १५ दिनको म्याद दिने निर्णय बैठकले गरेको छ ।
साथै, आफूले मापदण्डबमोजिम मासु पसल सञ्चालन गरेको स्वघोषणापत्रसमेत संकलन गर्ने निर्णय गरिएको कार्कीले जानकारी दिइन् । बैठकले बजारमा विषादीयुक्त तरकारी तथा फलफूल बिक्री भइरहेको जनगुनासो आएको भन्दै महानगरले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ ।
अबदेखि हरेक हप्ताको शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिसमेतको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उनले बताइन् । ‘यसअघि पनि बजार अनुगमन गरिरहेका थियौं,’ कार्कीले भनिन्, ‘अबदेखि नियमित अनुगमन गर्ने निर्णय गरेका छौं ।’

























