
काठमाडौं । संघीय निजामती सेवाको श्रेणी र तहका विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको हो ।
सिंहदरबारमा बिहीबार बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाको श्रेणी र तहका विषयमा सहमति जुटाएको छ। जस अनुसार निजामति कर्मचारी सेवामा चौधौं तहसम्म रहने भएको छ।
त्यस्तै बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुने वित्तिकै कार्यमूल्यांक गर्न उचित नहुने धारणा राखेका थिए । सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्यांकन गर्दा कार्यप्रकृति बुझेर मात्रै काम गर्नुपर्ने बताए ।
सांसद हितराज पाण्डेले कार्यसम्पादन मूल्यांकन गर्दा २ वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्नेमा जोड दिए । निरन्तर छलफल गरेर विधेयकलाई छिटो निष्कर्षमा पुर्याइने समिति सभापति रामहरि खतिवडाले बताए ।
समितिमा परेका उजुरीको अध्ययन गर्न सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णयसमेत भएको छ । उपसमिति गठनको निर्णय यसअघि नै भएको थियो ।

























