
काठमाडौं । लेबनानमा प्रदर्शनकारीको आक्रमणमा परेर नेपाली सेनाका उपरथी घाइते भएका छन् ।
उपरथी चोकबहादुर ढकाल घाइते भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । ढकाल संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका सैनिक अधिकारी हुन् ।
राजधानी बेरुतनजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई गएराति १२ बजेतिर प्रदर्शकारीले तोडफोड गरेका थिए । ढकाल सवार गाडीलाई उत्तेजित प्रदर्शनकारीको भिडले रोकेर तोडफोड गरेको थियो ।
घटनापछि घाइते भएका ढकाललाई उद्धार गरेर उपचारका लागि लेभल थ्री अस्पताल बेरुत लगिएको निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । ढकाल खतरामुक्त रहेको जनाइएको छ ।
घटनाबारे मिसन हेडक्वार्टरले दुःख व्यक्त गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्र संघले पनि आवश्यक छानबिन एवं अनुसन्धान गरेर घटनामा संलग्नलाई कारबाही गर्न लेबनान सरकारसँग माग गरेको छ । लेबनानका प्रधानमन्त्री लेबनिज आर्मड फोर्सले पनि घटनाको भत्र्सना गरेका छन् । तत्काल अनुसन्धान गरी घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता उनले जनाएका छन् ।
इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने निर्णय सरकारी अधिकारीहरुले गरेका थिए । उक्त निर्णयविरुद्ध लेबनानमा प्रदर्शन जारी छ । आन्दोलनकारीले विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

























