
हेटौंडा । ट्रकले अटोलाई ठक्कर दिएर दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । मृतकका छोरा र अटो चालक घाइते भएका छन् ।
हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा शुक्रबार राति करिब ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारीकी २५ वर्षीया पूजा बम्जनको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा सीएमसी चुरेहिल अस्पताल हेटौंडामा राति सवा ९ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर मृतकका छोरा ११ वर्षीय अमृत घिसिङ र अटो चालक हेटौंडा–१९ बाँसघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन् । उपचाररत बालकको अवस्था मध्यम र चालकको गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अटोलाई ठक्कर दिने ट्रक र चालक चितवनको राप्ती नगरपालिका–२ का ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























