
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हामी (नेपाली नागरिक) वातावरणीय परिवर्तनका निर्दोष पीडित भएको बताएका छन् ।
जलवायु परिवर्तनले नेपाललाई ठूलो असर गरिरहेको उनको भनाइ छ । काठमाडौंमा पाँचौं ‘ल एसिया’ अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक दृष्टिकोणले सक्षम भए पनि जलवायु परिवर्तनको मारमा परिरहेको उल्लेख गरे ।
‘यहाँ (नेपाल)का हिमालहरु पग्लिने क्रम बढेको छ । हामी वातावरणीय परिवर्तनका निर्दोष पीडित हौं । यसमा विश्व समुदायले उचित ध्यान दिनु पर्यो,’ सम्बोधनका क्रममा पौडेलले भने । सम्मेलनको उद्घाटन राष्ट्रपति पौडेलले आज (आइतबार) बिहान गरेका हुन् ।
सम्मेलनमा विभिन्न २० वटा देशका १ सय जना कानुन व्यवसायी र नेपालका २ सय ५१ जना कानुन व्यवसायी सहभागी छन् । राष्ट्रपति पौडेल प्रमुख अतिथि रहेको सम्मेलनमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत विशिष्ट अतिथि छन् ।
सम्मेलन भोलि (सोमबार) बेलुकासम्म चल्ने छ । सम्मेलनले काठमाडौं घोषणापत्र पनि जारी गर्ने छ ।

























