
विराटनगर । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा बिकेभिएम र राइजिङ नेपाल स्कुल विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा बिकेभिएम स्कुलले शिक्षादीप स्कुललाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ थालेको शिक्षादीपले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रनमै समेटियो । नितेश लाभले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बिकेभिएमका लागि प्लेयर अफ म्याच हार्दिक रेग्मीले ३ विकेट लिए ।
८७ रन लक्ष्य भेटाउने क्रममा बिकेभिएमले १० ओभर ४ बलमा ३ विकेटको क्षतिमा विजयी हासिल गर्यो । विवेक यादवले २३ रन बनाए । शिक्षादीपका नितेश लाभले १ विकेट लिए ।
त्यस्तै, दोस्रो खेलमा राइजिङ नेपाल स्कुलले बुढानीलकण्ठ स्कुललाई १ सय ४० को विशाल रन अन्तरले हरायो ।
बुढानीलकण्ठले टस जितेर राइजिङ स्कुललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । पहिलो ब्याटिङ थालेको राइजिङ नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । अरमान खानले ३८ रनको योगदान गरे । बुढानीलकण्ठका डेबिट थापा र कृष्ण पासवानले २–२ विकेट लिए ।
१ सय ८० रनको विशाल लक्ष्य पछ्याएको बुढानीलकण्ठले ९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३९ रनमै समेटियो । प्रशिस खड्काले १४ रन बनाए । राइजिङका प्लेयर अफ म्याच रेहान शेखले ५ विकेट र आमिर आलमले ४ विकेट लिए ।



















