
काठमाडौं । अमेरिकाबाट २३ जना नेपाली निष्कासित भएका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता त्यति संख्यामा नेपालीहरुलाई ‘डिपोर्ट’ गरिएको हो ।
अमेरिकाले कागजातविहीन आप्रवासी (अवैध बसोबास गरिरहेका)हरुलाई निष्कासन गर्ने क्रममा नेपालीहरुलाई पनि निष्कासन गरेको हो । निस्कासित हुनेमा ४ जना महिला र १९ जना पुरुष छन् । उनीहरुलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ ।
अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो ।
डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ । विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी २२ यता २३ जना नेपाली नागरिक अमेरिकाबाट ‘डिपोर्ट’ भएर आएको पुष्टि गरे ।
ट्रम्प प्रशासनले अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई)मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान चलाएको छ ।

























