
विराटनगर । सुनसरीको धरानमा कालोमोसो दलिएका पदम चेन्जी माबोले ताप्लेजुङमा निर्धाणाधीन केबलकारका लागि ज्यानै थाप्न तयार रहेको बताएका छन् ।
ताप्लेजुङका समाजसेवी एवं राजनीतिज्ञसमेत रहेका उनले जिल्लाको विकास र केबलकारको पक्षमा बोल्दा मोसो मात्रै नभइ ज्यानै थाप्न तयार रहेको बताएका हुन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार निकालिएको सद्भाव र्यालीलाई सम्बोधन गर्दै उनले आफूले विकासको पक्षमा बोल्दा मोसो दलिनु परेकोमा कुनै पश्चताप नरहेको बताए ।
बरु जिल्लाको विकासका लागि बोल्दा आफूलाई भन्दा जिल्लालाई नै फाइदा हुने भएकाले घाँटी नै थाप्न पनि तयार रहेको उद्घोष गरे । ‘केबलकारका लागि ज्यान दिन तयार छु । किनकि केबलकारसँग जिल्लावासीको भाग्य र भविष्य जोडिएको छ । जसरी भए पनि बनाउनैपर्छ । यसका लागि म मोसो मात्रै होइन । घाँटी थाप्न पनि तयार छु । ज्यान दिन पनि तयार छु,’ उनले भने ।
केबलकारको पक्षमा निकालिएको र्यालीका सहभागीले उनलाई मन्तव्य राख्नु अघि खादा र अविर लगाएर सम्मानसमेत गरेका थिए । लगत्तै मन्तव्य सुरु गरेका माबोले सुरुमा नै भने, ‘यस केबलकार । यस केबलकार । यस केबलकार ।’ माबोले ‘यस केबलकार’ भन्दा सहभागीले स्वर मिलाएर ‘यस केबलकार’ भन्दै साथ दिएका थिए ।
केबलकारको पक्षमा खुलेर लागेका माबोलाई मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले आइतबार धरान उपमहानगरपालिका–९ पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए । उनलाई मोसो दल्नेविरुद्ध अदालतबाट सोमबार पक्राउ पुर्जी जारी भएको छ । १ जना पक्राउ पनि परिसकेका छन् ।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन, निर्माण व्यवसायी इन्द्र केदेमलगायत सहभागीले माबोलाई खादा लगाउँदा नौमती बाजासमेत बजाएर उनको हौसला बढाइएको थियो । नगरप्रमुख मादेनले केबलकारको विपक्षमा रहेकाले पदयात्रा गर्ने तयारी गरेको भन्दै शुभकामना दिए ।
‘पदयात्रा गर्न बाहिरबाट आएको थाहा छ । आशा छ, हिँडेपछिको सास्ती पश्चात केबलकार चाहिन्छ नै भन्नुहुनेछ,’ उनले भने । स्थानीय मीना गुरुङले अशक्तले पनि पाथीभरा माताको दर्शन गर्न पाउनुपर्ने बताउँदै जिल्लाको लागि केबलकार आवश्यक रहेको उल्लेख गरिन् । मंगलबार बिहान सामुदायिक हलबाट निस्किएको सद्भाव र्यालीले फुङलिङ बजार परिक्रमा गरेको थियो ।

























