
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी प्रकृति लम्सालको शव आज (बुधबार) नेपाल ल्याइने भएको छ ।
भारतको ओडिसाबाट बुटवलस्थित घरमा शव लैजाने तयारी भइरहेको हो । भारतस्थित नेपाली दूतावासले शव नेपाल पठाउन प्रक्रिया सुरु भइसकेको जनाएको छ । स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरेर शव नेपाल पठाइएने दूतावासले उल्लेख गरेको छ ।
प्रकृतिकी फुपू सीता ढकालका अनुसार शव साँझसम्म नेपाल ल्याइपुर्याउने कुरा छ । प्रकृतिको शंकास्पद मृत्यु भएको थियो । त्यो जानकारी पाएलगत्तै उनका बुवा सुनील लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।
२० वर्षीया प्रकृति होस्टलको कोठामा गत आइतबार अपराह्न मृत फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
विद्यार्थीलाई कुटपिट गरेर होस्टलबाट निकालियो । चर्को आलोचना भएपछि भने विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याइएको घटना विश्वविद्यालयले माफी मागेको छ । प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् ।
प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ । प्रकृतिलाई ‘ब्ल्याकमेल’ गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई पक्राउ गरेर प्रहरीले न्यायिक हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।
श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिँदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप छ ।
जसका कारण नेपाली विद्यार्थीले भारतमा मृत्युवरण गर्नुपर्ने अवस्था उत्पन्न भएको घटनाले सबैको ध्यान खिचेको छ । यो घटनाको विरोधमा नेपाल र भारतका विद्यार्थी आन्दोलित भइरहेका छन् । संसदमा पनि कुरा उठेको छ ।

























