
झापा । झापाको भद्रपुरमा जारी ‘झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको क्वाटरफाइनलमा झापा ११ पुगेको छ ।
प्रतियोगिताअन्तर्गत बिहीबार (आज) भएको खेलमा झापाले काठमाडौंको मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ ।
झापाका लागि खेलको २९ औं मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्ने छ ।
‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापाले ‘ए’ डिभिजन लिग उपविजेता मछिन्द्रलाई पहिलो खेलबाटै घर फर्काएको छ ।
खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर सन्दीप लिम्बूले २१ हजारसहित ट्रफी प्राप्त गरे ।

शुक्रबारको पहिलो क्वाटरफाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ ।
गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँसाथै ट्रफी तथा मेडल प्राप्त गर्ने छ ।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले नगद १ लाख ५ हजार रुपैयाँ पाउने छ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइने छ ।



















