केबलकार विवाद : पक्ष र विपक्ष आमनेसामने, मुठभेटको अवस्था

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ९, शुक्रबार १८:२७

विराटनगर । ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङ क्षेत्र बिहीबार तनावग्रस्त बन्यो । केबलकार बन्न दिनुपर्ने र बनाउन दिन नहुने पक्ष आमनेसामने हुने स्थिति आयो ।

केबलकार बनाउनुपर्छ भन्ने पक्ष र ‘नो केबलकार’ पक्षबीच दोहोरो झडपको अवस्था बनेसँगै प्रहरीले हस्तक्षेप गर्यो । सुरक्षाकर्मी र ‘नो केबलकार’ पक्षबीचको झडपमा १२ जना घाइते भए । केबलकार निर्माणस्थलमा ‘नो केबलकार’ पक्षधर जान खोजेपछि प्रहरीले रोकेको थियो ।

Advertisement

त्यस क्रममा सुरक्षाकर्मीमाथि एक्कासि ढुंगामुढा भयो । ढुंगाले लागेर १२ जना सुरक्षाकर्मी घाइते भए । १ जना प्रदर्शनकारी पनि घाइते भए । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले अश्रुग्यास नै प्रहार गर्नु परेको थियो ।

घटनाको अनुगमनका लागि जाँदै गरेको मानव अधिकार रक्षक र रेडक्रसकर्मी सवार गाडी माथि ‘नो केबलकार’ पक्षधरले आक्रमण गरे । आक्रमणबाट चालक घाइते छन् । त्यसको विरोधमा यातायात व्यवसायीले यातायात बन्दको आह्वान गरेका छन् ।

फुङलिङ नगरपालिका–९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा ‘नो केबलकार’ समूहका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा प्रदर्शनकारीको उद्धारका लागि इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव तथा रेडक्रसका आजीवन सदस्य कमल लिम्बू घटनास्थलतर्फ जाँदै थिए । सो क्रममा उनीहरु सवार मे १ ज २५७९ को गाडी ‘नो केबलकार’ समूहले तोडफोड गरेको छ ।

आक्रमणबाट गाडी चालक फुङलिङ नगरपालिका–९ का ३५ वर्षीय राजकुमार पौडेल गम्भीर घाइते भए । टाउकोमा गहिरो चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार सम्भव भएन । पौडेललाई थप उपचिारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पातलमा भर्ना गरिएको मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।

पछिल्लो समय ‘नो केबलकार’का नाममा अराजकता बढ्दै गइरहेको छ । ‘नो केबलकार’ समूहका कार्यकर्ताले भौतिक आक्रमण, तोडफोड, सामाजिक सञ्जालको दुरुपयोग, गालीगलौज गर्नेदेखि कालोमोसो दल्नेसम्मका हर्कत गरिरहेका छन् ।

तर, आन्दोलनको नेतृत्व गरिरहेकाहरुले भने अराजक गतिविधि रोक्न कुनै भूमिका खेलेको देखिँदैन । उल्टै अराजकतालाई बढवा दिइरहेको पाइन्छ । समाजमा द्वन्द्व बढ्ने गरी अराजकता मच्चाउँदा न राज्यले नियन्त्रणमा लिन सकेको छ । न त आन्दोलनकारी संयम बनेका छन् ।

माग पूरा गराउन राज्यलाई दबाब दिने नाममा आक्रमण, तोडफोड, अमानवीय व्यवहारजस्ता गलत एवं तल्लो स्तरका हर्कत भइरहेको विश्लेषण अधिकारकर्मीहरुको छ । अर्कोतर्फ पाथीभरामा बन्न लागेको केबलकारको विरोध गरेर आन्दोलनरत पक्षले विकास विरोधी गतिविधि गरिरहेको स्थानीय अगुवा बताउँछन् ।

उनीहरु संस्कार र संस्कृतिको संरक्षण गर्दै विकास निर्माणलाई अघि बढाउन सहजीकरण गर्नुपर्ने बेला ‘नो केबलकार’का नाममा समाजमा आतंक मच्चाउने काम भइरहेको बताउँछन् । विभिन्न ठाउँबाट ताप्लेजुङ पुगेकाहरुले ‘केबलकार’को विरोध गरिरहेका छन् । तर, जनप्रतिनिधिदेखि बहुसंख्यक स्थानीय भने ‘केबलकार’को पक्षमा छन् । उनीहरुले यसअघि फुङलिङमा ‘केबलकार’को पक्षमा सद्भाव र्यालीसमेत निकालेका थिए ।

इन्सेकले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालका मानव अधिकार रक्षकहरूले निर्बाध काम गर्ने गरेको इतिहास स्मरण गराएको छ । नेपालको संविधान तथा कानुनले व्यक्तिको निर्बाध आवागमनको अधिकार सुनिश्चित गरेकोमा आन्दोलनका नाममा अधिकार कुण्ठित बनाउने काम भएको इन्सेकको ठहर छ ।

आन्दोलनरत पक्ष र प्रशासनलाई समेत जानकारी गराएर उद्दारका लागि गएको अधिकारकर्मी सवार गाडीमा जानाजान तोडफोड भएकाले आन्दोलनको नेतृत्व गर्नेहरु जबाफदेही हुन जरुरी रहेको इन्सेकको विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाको पुनरावृत्ति नगर्न, मानव अधिकार रक्षकको अधिकार रक्षा गर्न, निर्बाध आवागमनको सुनिश्चितता गर्न तथा घटनामा संलग्न आफ्ना समर्थकलाई कारबाहीको दायरामा ल्याउन ‘नो केबलकार’ समूहको नेतृत्वसँग इन्सेकले माग गरेको छ ।

उक्त घटनाको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लिले शुक्रबारबाट अनिश्चितकालिन यातायात बन्दको आवह्वान गरेको छ । व्यवसायीले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका तथा ताप्लेजुङका शाखा सडकमा यातायात बन्दको आह्वान गरेका हुन् ।

पाथीभरा क्षेत्र शुक्रबार पनि अशान्त नै बन्यो । यसअघि पनि केबलकार विवादमा बारम्बार झडप भइरहेका छन् । प्रहरीका अनुसार शुक्रबार पनि पाथीभरा क्षेत्रको अवस्था तनावग्रस्त छ । ‘नो केबलकार पक्ष’का करिब ३ सय जना पाथीभरा क्षेत्रमा छन् । केबलकार बनाउनुपर्छ भन्ने पक्षका करिब १ सय ५० जना भेला भएका छन् ।

प्रहरीका अनुसार एउटा पक्ष केबलकार बनाउनुपर्ने अडानमा छ भने अर्को पक्ष कुनैपनि हालतमा रोक्नुपर्ने अडानमा छ । घटनास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

पक्ष र विपक्षको आन्दोलनले अवस्था जटिल बनेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालको नेतृत्वमो टोली खटाएको छ । दाहलसहितको टोली ताप्लेजुङ पुगिसकेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार दाहालको टोलीले दुवै पक्षसँग समन्वय गर्नेछ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार प्रदेशबाट गएको टोलीले ताप्लेजुङको वस्तुस्थिति अध्ययन गर्नेछ । दुवै पक्षसँग समन्वय गरेर अवस्था सामान्य बनाउन पहल गर्ने र भूमिका खेल्ने उनले बताए । प्रहरीले समन्वय गरेर काम गर्ने डीआईजी अधिकारीको भनाइ छ ।

पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि केबलकारको विरोधी पक्षले आन्दोलन गरिरहेको छ । अहिले बनाउन दिनुपर्ने र बनाउन दिन नहुने पक्ष आमनेसामने हुँदा मुठभेटको अवस्था बनेको छ । मुठभेट हुन नदिन सुरक्षा सतर्कता बढाइएको डीआईजी अधिकारीले बताए ।

सरकारले गठन गरेको वार्ता समिति र ‘नो केबलकार’ पक्षबीचको छलफल निष्कर्षमा नपुगेपछि पहिचानवादीहरु पाथीभरा क्षेत्र केन्द्रित आन्दोलनमा छन् । आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो पनि पुगेका छन् । महतोले भड्किलो अभिव्यक्ति दिँदै आएका छन् ।

उनको भड्किलो अभिव्यक्ति र असभ्य एवं गलत व्यवहारका कारण माहोल झन् बिग्रिएर गएको छ । प्रायः माहोललाई उत्तेजित बनाउने र हिंसा भड्काउन जोडबल गर्ने गतिविधि महतोले विगतदेखि नै गर्दै आएका छन् । विवादित क्षेत्रमा उनको प्रवेशसँगै माहोल उत्तेजित भएर नियन्त्रण बाहिर पुग्ने गरेको छ ।

३ दशक पुरानो योजना, काम सुरु भएपछि तनाव

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको योजना ३ दशकअघिको थियो । पछिल्लो समय व्यवसायी चन्द्र ढकालको समूहको प्रवेशपछि केबलकार निर्माणको काम अघि बढेको थियो । केबलकारले धार्मिक आस्था र पर्यावरण मास्ने भन्दै आन्दोलन सुरु भयो । आन्दोलनमा कोशी प्रदेश नामकरणसँग विरोध जनाइरहेको पहिचानवादी समूह सहभागी छ ।

माघ दोस्रो साता ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका थिए । यो घटनापछि सरकारले वार्ता समिति पनि गठन गर्याे । पहिचान पक्षसँग पटकपटक वार्ता भयो । तर, सहमति जुटेन । सहमति नजुटेपछि पहिचान पक्षले केबलकारको विरोधमा थप आन्दोलन गर्ने भन्दै पाथीभरा क्षेत्रमा दबाबमुलक पदयात्रा गरिरहेको छ ।

तर, पदयात्राका नाममा अराजक र उत्तेजित गतिविधि भइरहेका छन् । केबलकार बनाउनुपर्छ र बनाउनु हुँदैन भन्ने पक्षमा समाज विभाजित छ । ताप्लेजुङका अधिकांश नागरिक बनाउनुपर्ने पक्षमा छन् । विपक्षमा भने बाहिरी जिल्लाका अभियान्ताहरु छन् ।

विपक्षमा उभिएको समूह पहिचानको मुद्दा उठाउँदै केबलकार सुरु गर्दा पूजा विधि मासिने दाबी गर्छ । निर्माणको माग गरिरहेका स्थानीयले भने तीर्थालु र भक्तजन मात्रै नभइ आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर गर्छन् । केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभइ सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएपछि पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलन सुरु भएको थियो । तर, उक्त आन्दोलन सफल नभएपछि पछिल्लो समय पाथीभरा (मुक्कुम्लुुङ) क्षेत्र केन्द्रित आन्दोलन चलिरहेको छ । त्यसमा विगतमा लिम्बूवान किराँतलगायत प्रदेश माग्दै दल खोलेका कुमार लिङदेनलगायत पक्षहरु सामेल छन् ।

मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्दा किराँत समुदायको मुन्धुमी संस्कृति मेटिने आन्दोलनरत किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो बताउँछिन् । मुन्धुमी संस्कृतिलाई जोगाउनका लागि पाथीभरा (मुक्कुम्लुङ)लाई प्राकृतिक अवस्थामै छाड्नुपर्ने उनको माग छ ।

फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले पाथीभरामा केबलकार निर्माण गर्दा समग्र ताप्लेजुङको विकास र स्थानीय सरोकारको हित हुन जाने भएकाले आफू निर्माण हुनुपर्ने पक्षमा उभिएको बताए ।

२०५१–०५२ सालबाटै केबलकार निर्माणको प्रसंग चलेको थियो । त्यसबेला विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले केबलकार निर्माणको अगुवाइ गरेका थिए । उनकै अगुवाइमा २०७२ सालमा ‘पाथीभरा देवी दर्शन केबलकार प्रा.लि’ दर्ता भएको थियो । उनीपछि यो कम्पनीमा ईश्वरी पौडेलसहितको टोलीले काम गर्ने तयारी गरेको थियो । तर, सकेनन् ।

त्यसपछि यती एयरलाइन्सका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पा जोडिए । शेर्पाको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनाम शेर्पासँग यो कम्पनीको अधिकतम सेयर गएको थियो । सोनाम शेर्पा आईएमई ग्रुपका मालिक चन्द्र ढकाललाई सेयर बेचेर कम्पनीबाट बाहिरिएका थिए ।

३ दशक अघिदेखि चर्चा भएको केबलकारमा ढकालको प्रवेशपछि भने कामले गति लिएको छ । ढकालले पछिल्लो समय काठमाडौं, पोखरा, मौलाकालीलगायत क्षेत्रमा केबलकार बनाइरहेका छन् । ताप्लेजुङमा बनाउने योजना गरिएको यो केबलकारको प्रवेश बिन्दु २९ रोपनी निजी जग्गामा बन्छ । २.७५ किलोमिटर केबलकारको बाँकी जग्गा वन क्षेत्र हो । राज्यबाट अनुमति पाएपछि निर्माण कम्पनीले शिलान्यास गरेर काम थालेको छ ।

कस्तो बन्छ केबलकार ?

पाथीभरा दर्शन गरेर फर्कन पैदल यात्रा गर्नुपर्छ । केबलकार निर्माण भए १ दिनको बाटो १० मिनेटमा छोटिने छ । प्रस्तावित केबलकारले प्रतिघण्टा १ हजार जना तीर्थयात्री बोक्न सक्छ । केबलकार निर्माणका लागि ३ अर्ब लागत अनुमान छ । काम सुरु भए डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।

फुङलिङ नगरपालिका–११ मा रहेको काफ्लेपाटीबाट पाथीभरा मन्दिर परिसरभन्दा करिब सात सय मिटर तलसम्म केबलकार निर्माण हुनेछ । केबलकारको दुरी २.७५ किलोमिटर हुनेछ । केबलकारमा १३ वटा खम्बा (टावर)मा ३८ वटा गोन्डोलाज (केबलकारको बसेर यात्रा गर्ने बक्स) गर्ने प्रस्ताव छ ।

निर्माणपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट मुनिका बालबालिकाले निःशुल्क यात्रा गर्न पाउने छन् । निर्माण कम्पनीले ताप्लेजुङको फेदीमा रिसोर्ट सञ्चालन नगर्ने र प्रस्थान बिन्दुमा भने रिसोर्ट रहने जनाएको छ ।

पाथीभरामा दर्शनका लागि अहिले वार्षिक ५ लाख हाराहारी पर्यटक पुग्छन् । केबलकार निर्माण भएपछि यो संख्या दोब्बर हुने निर्माण पक्षको दाबी छ ।

‘नो केबलकार’का नाममा अराजकता : मानव अधिकार रक्षक र रेडक्रसकर्मीमाथि आक्रमण

तपाइको प्रतिक्रिया
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
कप्तानगन्ज घटनापछि तीन पालिकाको शोक, बिदा र सद्भावको अपिल
एक विद्यालयभित्र शिक्षिकाको शंकास्पद मृत्यु
विद्यालयभित्र शिक्षिकाको शंकास्पद मृत्यु
तमोर करिडोरमा ट्रकमा आगलागी, जलेर चालकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×