
विराटनगर । मोरङको उर्लाबारीमा भएको प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन भलिबल टिमले जितेको छ ।
उर्लाबारी युवा क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा संखुवासभाले आयोजक टोलीलाई ३०–२८, २५–२१, २५–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै संखुवासभाले १ लाख १ सय ११ र उपविजेता उर्लाबारीले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई उर्लाबारीका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, कोशी प्रदेश भलिबल संघका उपाध्यक्ष वीरबल थापा, आयोजक क्लबका अध्यक्ष रोहित थापालागयतले पुरस्कार प्रदान गरे ।
सो अवसरमा पूर्व राष्ट्रिय खेलाडीद्वय वीरबल थापा र वम डाँगीलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो । प्रतियोगितामा कोशी प्रदेशका ११ वटा टोलीको सहभागिता रहेको थियो ।



















