
झापा । झापाको भद्रपुरमा जारी ‘भद्रपुर झापा गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा झापा ११ एफसी पुगेको छ ।
शुक्रबार (आज) भएको खेलमा पाहुना टोली ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै झापा ११ ले अन्तिम ४ मा स्थान सुरक्षित पारेको हो ।
झापा ११ ले चर्च ब्वाइजलाई २–१ को गोल अन्तरमा जिते निकालेको हो । झापाले यसअघि मछिन्द्र एफसीलाई हराएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा दुवै टोली खेलको थिए ।
खेलको १४ औं मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । चर्च ब्वाइजका गोलकिपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।
४१ औं मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरी पारे । झापाका प्रदीप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरेपछि पाएको फ्रिकिकमा एरिक विष्टको प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए ।
७९ औं मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि गोल थप्दै गोल संख्या दोब्बर पारे । चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले गोल गर्दै २–१ को अवस्थामा ल्याए ।
घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङले २१ हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वाटरफाइनल खेल न्यू रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।



















