
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण आइतबार (आज)देखि सुरु हुँदैछ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एन्फा कम्प्लेक्समा प्रतियोगिता उद्घाटन गर्ने भएका छन् ।
प्रतियोगिताको पहिलो खेल पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ फुटबल क्लब)बीच हुनेछ ।
प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यूरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजक टोली केपी ओली एफसीले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदान तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका दौरानमा इटालीका गोलरक्षक खेलाडी जियानलुजी बुफोनको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।



















