बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ११, आइतबार १९:४७

झापा । बंगलादेशको काउर्न बाजार प्रगति संघ झापा जारी ‘भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आइतबार (आज) भएको खेलमा बंगलादेशले न्यू रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै  सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

बंगलादेशले सेमिफाइनलमा आयोजकको टोली भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले खेलको २४ औं मिनेटमा अग्रता बनायो ।

साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औं मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए ।

सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो रोजाइका खेलाडीको अनुपस्थितिमा एनआरटीलाई बंगलादेशले खेलभरि दबाबमा राखेको थियो ।

खेलको ५ औं मिनेटमा एनआरटीका मोहित गुरुङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । खेलको १६ औं मिनेटमा गुरुङले फेरि पेनाल्टी एरियामा चुके ।

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एस सिल्लाहले २१ हजार र ट्रफी पाए ।

खेलपछि भएको पोस्टम्याच कन्फ्रेन्समा बंगालदेशका सहायक प्रशिक्षक सोएल रहमानले नेपालको उत्कृष्ट टिम रहेको एनआरटीले खेल्ने तरिकाको बारेमा सामाजिक सञ्जालहरूमा हेरेर आफ्नो खेलाडीहरूलाई मैदानमा उतारेको र पहिलो खेलमै जित दर्ता गर्न सफल भएको बताए । सेमिफाइनलमा पनि रणनीति बनाएर फाइनलसम्म पुग्ने योजना रहेको उनको भनाइ छ ।

त्यस्तै, एनआरटीका प्रशिक्षक श्याम मालीले अनपेक्षित हारले पहिलो खेलबाटै बाहिरिएकाले टिमको नाममा असर पुगेको बताए । धेरै प्रतियोगिताका कारण पहिलो रोजाइका खेलाडीहरूलाई ल्याउन नसक्दा नतिजा पक्षमा नआएको उनको भनाइ छ ।

प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.