
झापा । भुटानको डागा युनाइटेड फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ ।
भद्रपुरस्थित मेची रंगशालामा सोमबार (आज) भएको खेलमा भुटानले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
खेलको ३४ औं मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपीएफका ३ जना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए ।
उनको प्रहारले एपीएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो । त्यसको २ मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । ३६ औं मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे ।
५० औं मिनेटमा एपीएफका दीपेश धिमालले गोल फर्काउँदै टिमलाई २–१ मा ल्याए । मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए ।
६३ औं मिनेटमा भुटानले ३–१ को अग्रता बनायो । एपीएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे । २ जना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयमा एपीएफले खेललाई ३–२ मा पुर्यो । भुटानका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए ।
त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे । खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेलले २१ हजार र ट्रफी पाए ।
पोस्टम्याच कन्फ्रेन्समा भुटानका प्रशिक्षक दोर्जी खन्डुले एपीएफसँगको खेलमा संघर्षपूर्ण जित निकालेको बताए । टिममा भुटानसहित केही बाहिरका खेलाडी रहेकोले फाइनल प्रवेशका लागि केही खेलाडी परिवर्तन गर्ने उनको भनाइ छ ।
त्यस्तै, एपीएफका प्रशिक्षक मिलन राईले केपी ओेली कप खेलेका टिम नै झापा आएको र खेलाडीले विश्राम गर्न नपाउँदा टिमले हार ब्यहोर्नु परेको बताए । एन्फाले प्रतियोगिता जुधाएका कारण टिमसहित खेलाडीहरूमा असर परिरहेको उनको भनाइ छ ।
प्रतियोगिताअन्तर्गत मंगलबारको सेमिफाइनल खेल आयोजकको भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।



















