
विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिताअन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौडमा तेह्रथुमका सरोज लिम्बू र महिलामा खोटाङकी दीपा बस्नेत प्रथम भएका छन् ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूलसमारोह समितिका अध्यक्ष पाँचकर्ण राई र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले दौड प्रतियोगिताको उद्घाटन गरे ।
सडक दौडमा लिम्बूले १५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै प्रथम भए भने पाँचथरका ओसन राईले १५ मिनेट ४७ पूरा गर्दै दोस्रो र ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान भए ।
त्यस्तै, ५ किलोमिटरको महिला सडक दौडमा खोटाङकी दीपा बस्नेतले १९ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम भइन् भने २० मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बूले दोस्रो र २० मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै संखुवासभाकी सुनकला राईले तेस्रो भइ भएको एथलेटिक्स खेलकी संयोजक थलु राजभण्डारीले जानकारी दिइन् ।



















