
विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव, २०८१ अन्तर्गतको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि उचालेको हो । खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी भएको झापाले पहिलो हाफमै जेनिफर मगरको गोलबाट अग्रता लिएको थियो ।
मध्यान्तरपछि पूर्णिमा राई र जेनिफर मगरले १–१ गोल थपेर झापाको जित नश्चित गराए । फाइनल खेलको ‘वुमन अफ दी म्याच ‘ झापाकी मनिता तुम्रुक र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर घोषित भएका छन् । मगरले प्रतियोगिताभर ६ गोल गरिन् ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक झापाकी सुशीला चौधरी, उत्कृष्ट डिफेन्स झापाकी नेहा चौधरी, उत्कृष्ट मिडफिलडर झापाकी सिम्रन राई, उत्कृष्ट स्ट्राइकर झापाकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक झापाका शान्तबहादुर रायमाझी घोषित भएका छन् । उपाधि उचालेको झापाले नगद १ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता बनेको पाँचथरले नगद ५० हजार, ट्रफी र मेडलमा चित्त बुुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार र अन्य विधामा उत्कृष्ट हुनेलाई नगद १० हजार प्रदान गरियो ।
विजेतालगायत उत्कृष्ट खेलाडीहरुलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री पाँचकर्ण राई , राज्यमन्त्री सिर्जना राई , खेलकुद विकास बोर्डका उपाध्यक्ष विन्दिया कार्की र सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले पुरस्कार प्रदान गरेका छन् ।
फागुन १३ गतेबाट सुरु भएको खेलकुद महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबल टेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराँते, महिला तथा पुरुष तेक्वान्दो, पुरुष सफ्टटेनिस र डोरीतानलगायतका प्रतियोगिता गरिएको छ । खेलकुद महोत्सव आइतबार सकिएको छ ।



















