विराट गोल्डकप : आयोजकलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार २१:५४

विराटनगर । आयोजक रिजालको मोरङ एफएलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा रिजालको मोरङलाई १–० गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने ।

्उनले पहिलो हाफको ३७ औं मिनेटमा गरेको गोलनै टिमको जितका लागि पर्याप्त बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको मोरङले खेललाई बराबारीमा ल्याउन निकै संघर्ष गर्यो । तर, सफल हुन सकेन । दोस्रो हाफपछि आक्रामक खेल पस्किएको मोरङ खेल बराबरीमा ल्यान सफल भएन ।

खेलको पहिलो हाफ आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ३३ औं मिनेटमा निरज चौधरीले गरेको कडा प्रहारलाई मोरङका गोलरक्षक पूर्ण चेम्जोङले उत्कृष्ट बचाए ।

३४ औं मिनेटमा सुजन चौधरीले गरेको प्रहार फ्रेममा पर्न सकेन । आर्मीका दिनेश हेन्जनले ५० औं मिनेटमा डी–बक्सभित्रदेखि गरेको प्रहारमा पनि गोलरक्षक चेम्जोङ बाधक बने ।

त्यसलगतै निरन्जन धामीले गरेको सशक्त प्रहार बाहिरियो । खेलको ५१ औं मिनेटमा आर्मीका नरेश खत्रीको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन ।

खेलको ५३ औं मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै सुशील राईले गोल गर्ने गतिलो अवसर गुमाए ।

अभिषेक गुरुङले डी–बक्सभित्रदेखि गरेको प्रहार बाहिरिनु मोरङका लागि दुर्भाग्यपूर्ण बन्यो । ७० औं मिनेटमा दोर्जे तामाङको डी–बक्स नजिकदेखिको प्रहारले पोस्टको दिशा तय गर्न नसक्दा घरेलु मैदानमा मोरङ स्तब्ध हुन पुग्यो ।

प्रतियोगिताको प्लेयर अफ दी म्याच आर्मीका गोलरक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए । बिहीबार सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.