
विराटनगर । विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज (शनिबार) चर्च ब्वाईज युनाईटेड र एनआरटी भिड्दै छन् ।
सहिद रंगशालामा साँझ ६ः३० बजेपछि खेल सुरु हुने आयोजकले जनाएको छ । चर्च ब्वाईज र एनआरटीबीच अन्तिम क्वार्टर फाइनल खेल हुने भएको हो । प्रतिस्पर्धा निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
चर्च ब्वाईज र एनआरटीबीचको खेल सकिएपछि विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा हुने छ । आइतबारदेखि सेमिफाइनल खेल सुरु हुने छ ।
शुक्रबार राति सम्पन्न खेलमा थ्रीस्टार क्लब ‘डिफेन्डिङ च्याम्पियन’ मच्छिन्द्र एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको छ । पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार र विभागीय टोली त्रिभूवन आर्मीबीच प्रतिस्पर्धा हुने छ ।
यसैबीच, शनिबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस (महिला दिवस)को अवसरमा विराट गोल्डकप हेर्न जाने महिलाहरुको लागि आयोजकले निःशुल्क टिकट राखेको छ । नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको हो ।



















