सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार १७:५२

काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा १० औं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्‌घाटन गरिएको छ । 

वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको हो ।

संघ, प्रदेश र स्थानीय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र वीरेन्द्र नगरपालिकाकी मेयर मोहनमाया ढकालले सचिवालयको एक कार्यक्रमबीच संयुक्त रुपमा उद्‌घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुद अब जेठमै निर्धारण गरिएको मितिमा हुने बताउँदै सहभागी हुने सबै टिमलाई तयारी गर्न आग्रह गरे ।

उनले राष्ट्रिय खेलकुदका लागि खरिद प्रक्रिया सुरु भइसकेको जानकारी गराउँदै केही दिनमा नै उपसमिति गठन गरिने बताए ।

उनले मौसमको प्रतिकुलतालाई मध्यनगर गरी खेल तालिका बनाइने बताउँदै केही खेल राष्ट्रिय खेलकुद सुरु हुन एक साता बाँकी छँदै सञ्चालन गरिने बताए ।

उनले सचिवालय स्थापना हुनु राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि नै हुने सुनिश्चिता भएको बताउँदै राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका लागि १० औं राष्ट्रिय खेलकुद अवसर भएको बताउँदै सचिवालय उद्घाटनले राष्ट्रिय खेलकुद जेठ ३ मै हुने सन्देश र उत्तर दुवै भएको धारणा व्यक्त गरे ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न स्थानीय तहको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

 राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध  गरे ।

कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपकी सदस्य नन्दा बस्याल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खेलकर्मीलगायतको उपस्थिति रहेको थियो ।

यही फागुन २० गते ललितपुरको सातदोबाटोमा बसेको मूल आयोजक समितिको पहिलो बैठकले सर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.