
विराटनगर । हिसान कोशी प्रदेशको आयोजना तथा हिसान मोरङको संयोजनमा प्रदेश राजधानी विराटनगरमा जारी प्रथम कोशी प्रदेशस्तरीय अन्तरक्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको र ग्रीनल्याण्ड कलेज प्रवेश गरेका छन् ।
माघमा सकिएको हिसान क्रिकेटमा अरनिको र ग्रीनल्याण्डबीच फाइनल खेल हुँदा अरनिकोले उपाधि जितेको थियो । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा हिसान मोरङ क्रिकेट विजेता विराटनगरको अरनिको कलेज बिर्तामोडको निदी कलेजलाई ६८ रनको फराकिलो अन्तरले पराजित गरेर फाइनल प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रनको स्कोर बनाएको थियो । अरनिकोको जितमा ‘प्लेयर अफ दी म्याच’ रुद्रप्रताव साहले अविजित ५० रन बनाउँदा सोनु साहले २९ रनको योगदान दिए । निदीका विशाल मगरले सर्वाधिक ४ विकेट लिए ।
१ सय ३२ रनको लक्ष्य पछ्याएको निदी १५ ओभरमा सबै विकेट गुमाइ ६४ रनमा सीमित भयो । निदीका लागि विशाल मगरले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा प्रकाश पासवानले २ विकेट लिए ।
त्यस्तै, दोस्रो सेमिफानल खेलमा ग्रीनल्याण्ड कलेज इटहरीको विश्व आर्दश कलेजलाई १६ रनले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रीनल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रनको स्कोर बनाएको थियो ।
ग्रीनल्याण्डका क्रि चौधरीले २४ रन बनाउँदा र अनिष सहनीले २३ रन बनाए । विश्व आर्दशका बलराम मण्डलले २ विकेट लिँदा सन्देश भण्डारी र आकाश सराफले पनि समान २–२ विकेट लिए ।
९८ रनको लक्ष्य पछ्याएको विश्व आर्दश पूरै ओभर खेल्दै ९ विकेट ८१ रनमा सीमित भयो । विश्व आर्दशका आर्यन आमिरले सर्वाधिक २२ रनको योगदान दिए । ग्रीनल्याण्डका ‘प्लेयर अफ दी म्याच’ सुनील यादवले ४ विकेट लिँदा अमित चौधरी र गनेश यादवले २–२ विकेट लिए ।
प्रतियोगिताको फाइनल बुधबार हुने छ । प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरेर ६ टिम सहभागी रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खड्काले बताए ।



















